अस्पतालमा बन्धक बनेका बिरामीलाई गिरीराजमणि आफैँ जमानी बसेर निकाले

गएको साउन २४ गते महोत्तरीको बर्दिबास १० खयरमाराका ६१ वर्षीय बिन्देश्वर परियार बिरामी पत्नीलाई भेट्न जनकपुर जाँदै थिए।

प्रेसरको कारण पक्षघात भएर सिकिस्त बिरामी भएकी पत्नी ५५ वर्षीया सुन्तली परियारको जनकपुरको रामजानकी अस्पतालमा उपचार भइरहेको थियो।

पत्नीको उपचार गर्ने खर्च नभएपछि उनी अघिल्लो दिन मात्रै खर्चको जोहो गर्न गाउँ आएका थिए। निकै हारगुहार गरेपछि बिन्देश्वरले गाउँमा पाँच हजार रुपैयाँ जुटाए। त्यही रुपैयाँ साथमा लिएर उनी घरबाट जनकपुरतर्फ हिँडे।

बर्दिबाससम्म पुग्न उनले सडकमा गुड्दै गरेका मोटरसाइकलमा लिफ्ट माग्न थाले। स ८ प ८१४३ नम्बरको मोटरसाइकलमा उनले लिफ्ट पाए। मोटरसाइकल चालक थिए– बर्दिबास–३ कालापानीका डेबिट परियार।

परियार सबार मोटरसाइकल बर्दिबासतर्फ अघि बढ्दै थियो। अचानक खयरमाराकै राजकुमार भोलनले चलाएको बा ७२ प ६५१३ नम्बरको स्कुटरले बीचबाटोमै परियार सबार मोटरसाइकललाई ठक्कर दियो। परियार सडकमा पछाएिर।

उनको दाहिने खुट्टा भाँचियो। प्रहरीले उनालाई धनुषाको लालगढस्थित लालगढ मोडेल अस्पताल पुर्यायो। अस्पतालमा परियारको उपचार सुरु भयो।

पति दुर्घटनामा गम्भीर घाइते भएको भोलिपल्ट परियारकी पत्नी पुतलीले पनि यो संसार छाडिन्। आफैँ जीवन मरणको दोसाधमा रहेका परियार पत्नीको अन्त्यष्टिमा समेत सहभागी हुन पाएनन्।

भदौको पहिलो साता छोरा सञ्जय परियार आमाको काजकिरिया सकेपछि बुवालाई भेट्न लालगढ अस्पताल पुगे।

खुट्टामा स्टिल राखिएका बुवालाई केही दिनपछि डिस्चार्ज गरिने भन्दै अस्पताल प्रशासनले उपचार खर्चको जोहो गर्न सञ्जयलाई अरायो। तर, दुर्घटनामा संलग्न स्कुटर र मोटरसाइकल चालक सम्पर्कमा आएनन्। उनीहरु फरार भएका थिए।

कमजोर आर्थिक अवस्था भएका सञ्जयले बुवाको उपचारको खर्च अस्पतालमा बुझाउन सकेनन्।

अस्पताल प्रशासनले उपचार र खाना खर्च भनेर उनको हातमा एक लाख ८५ हजार रुपैयाँको बिल थमाएको थियो। उपचारमा भएको खर्च भुक्तानी नगरी अस्पतालले बिन्देश्वरलाई डिस्चार्ज गरेन। उनी दुई महिनासम्म अस्पतालमै बन्धक जस्तै बने।

उपचार खर्च तिर्न नसक्दा परियार लालगढ अस्पतालमा बन्धक बनेको खबर शनिबार बिहान माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले पाए। पोखरेल महोत्तरी १ बाट संघीय संसदको उम्मेदवार छन्।

खबर पाउनासाथ पोखरेल निर्वाचन अभियान छाडेर शनिबारै लालगढ अस्पताल पुगे। अस्पतालमा बुझाउनुपर्ने केही रकम जुटाउन सहयोग गरे। पोखरेलले आफू जमानी बसेर आग्रह गरेपछि अस्पताल सञ्चालकसमेत रहेका डा. रामकुमार पौडेल परियारलाई डिस्चार्ज गर्न तयार भए।

‘केही रकम हिजै हामीले अस्पतालमा बुझाएका छौँ,’ छोरा सञ्जयले भने, ‘बाँकी रकम प्रक्रियाअनुसार सबारी धनीले तिर्ने सर्तमा अस्पताल प्रशासनले हिजै बुवालाई डिस्चार्ज गरेको छ।’

हाल दुबै सवारी साधन प्रहरी चौकी खयरमाराको नियन्त्रणमा छन्। दुर्घटनापछि दुबै सवारी साधनका चालक सम्पर्कमा नआउँदा बिरामीको उपचार खर्च जुट्न नसकेको प्रहरीले जनाएको छ।

‘आमाको उपचारमा एक लाख भन्दा धेरै खर्च भयो,’ सञ्जयले भने, ‘उपचार खर्च जुटाउन नसक्दा दुई महिनासम्म बुवा अस्पतालमा बन्धक बन्नु पर्यो। गिरीराजमणि पोखरेल जमानी बस्दा हामीले बुवालाई लिएर घर आउन पाएका छौँ।’


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।