प्रचण्ड पुगे हिमालपारिका गाउँ, उपल्लो गोरखाको विकासमा पहल गर्ने सङ्कल्प

गोरखा २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतबार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ ।

गोरखाको क्षेत्र नं. १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधानविरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिनुभयो।

अध्यक्ष प्रचण्डले अहिले संविधान पक्षधर र विरोधीहरुको लडाई रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लिन खोजेको बताउनु भयो।

राजनीतिक परिवर्तनको लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो,‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यहाँको सडक विस्तार, भएका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उहाँले बताउनु भयो ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उहाँको भनाई थियो।
आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।