मङ्सिर १८ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धन सरकार टिकाउन जरुरी रहेको बताउनुभएको छ । व्यास नगरपालिका –८ पुलिमराङ, सहिद गाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता पौडेलले सत्तारुढ गठबन्धन मर्म भनेको शान्ति, सुशासन, स्थिर सरकार र समृद्धि भएकाले निरन्तरता दिइनु पर्ने बताउनुभयो । निर्वाचित जनप्रतिनिधीले जनताको विश्वासलाई धोका दिन नहुने उहाँको भनाइ छ । कुनै आँच आउन नदिनेगरी दरो रुपमा मनमा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

“तपाईले दिएको मतको पूरापुर हामी सदुपयोग गर्छौैं, अत्यन्त इमान्दारपूर्वक काम गरेर मतदाताले ठीक गरेछौं भन्ने मनमा आनन्द हुनेगरी काम गर्छौं” नेता पौडेलले बताउनुभयो । भोट हालेर जिताउने काम मतदाताले पूरा गर्नुभएको र अब ऋण तिर्ने काम आफूहरुको रहेको उहाँले बताउनुभयो । 

सहिदको गाउँबाट प्ररेणा मिलेर राजनीतिमा लागेको पौडेलले बताउनुभयो । अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुस्शासन, विकास र गाउँकै मानिसलाई रोजगारी दिनसक्नु पर्ने नेता पौडेलले बताउनुभयो । “देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार र कमिशनतन्त्र रोक्न सक्यौं भने विकास हुन्छ” नेता पौडेलले भन्नुभयो, “कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने पर्यटनको विस्तार गाउँमा पुर्‍याउने, गाउँमा उद्योगहरु खोल्नुपर्छ ।”

सरकार नेतृत्वका लागि आफूले दाबी गर्ने नेता पौडेलले बताउनुभयो । देशमा सुशासन दिने नैतिक सामथ्र्य व्यक्तिमा हुनुपर्ने त्यो आफूसँग भएको चर्चा गर्नुहुँदै नेता पौडेलले देश बनाउन आफू प्रधानमन्त्री बन्न चाहेको प्रष्ट पार्नुभयो ।

सूशासन भयो भने देशको विकास हुन्छ, त्यसको सामथ्र्य मसँग छ नेता पौडेलले भन्नुभयो । कार्यक्रमअघि पुलिमराङस्थित सहिद पार्कमा रहेका सहिदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । सहिद धर्मध्वज गुरुङको प्रेरणाले आफू राजनीतिमा लागेको नेता पौडेलले बताउनुभयो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।