काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निर्देशन अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित गरेकाे छ । एकतर्फी मूल्यवृद्वि पछि प्रधानमन्त्री समक्षसम्म गुनासाे पुगेकाे थियाे । त्यसपछि प्रधानमन्त्री प्रचण्डले चासाे देखाएका थिए ।

कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बताए ।

केही डेरी र दूध उद्योगहरुले .यही पुस १६ गतेदेखि लागू हुने गरी दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेका थिए । त्यसको चौतर्फी विरोध भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।