काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने भएका छन् । आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो ।
पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोस्रो तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए ।
चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु । यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लाग्छु ।’