काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाही मंगलबार आफ्नो नियमित कामका लागि कार्यालय पुगेका थिए । तर, उनी सैनिक अनुशासन विपरीत काम गरेको अरोपमा एकाएक सैनिक मुख्यालय जंगी अड्डाको नियन्त्रणमा परी सैनिक प्रहरीको हिरासतमा पुगे । हाल उनी सैनिक प्रहरीको नियन्त्रण भित्र अनुसन्धानका क्रममा छन् ।
आखिर भयो किन त यस्तो ? धेरैलाई यो प्रश्नले मनमा कौतुहलता पैदा भएको हुनसक्छ । उमेर हदका कारण शाही बुधबार (पुस २०) बाट नियमित अवकासमा जाँदै थिए । शाहीले सेनाबाट अवकासको पत्र पनि बुझिसकेका थिए । तर आफ्नो वास्तविक उमेरभन्दा १ वर्ष बढी कायम गरिएको भन्दै शाही सैनिक मुख्यालय र रक्षा मन्त्रालयको निर्णयविरुद्ध दुई पटक सर्वोच्च अदालत पुगेका थिए ।
सर्वोच्च अदालतले यही पुस १३ मा शाहीको पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकासमा पठाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि शाही मंगलबार नियमित कामको लागि जंगी अड्डा पुगेका थिए । लगत्तै सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो ।