काठमाडौँ — अमेरिकामा फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए)को पाइलटहरुलाई महत्वपूर्ण सूचना दिने प्रणाली सञ्चालनमा समस्या देखिएपछि अमेरिकाभरको हवाई उडान प्रभावित भएको छ । समस्याको कारण युनाइटेड एयरलाइन्स होल्डिङले अल्पकालका लागि आफ्नो सबै उडान ग्राउन्डेड गरेको छ ।

आन्तरिक हवाइयात्रीहरुले सामाजिक सञ्जालमा उडानमा ढिलाइ भएको बताएका छन् । यसबाट कति उडान प्रभावित भए भन्ने जानकारी उपलब्ध नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उडानको ट्राकिङ गर्ने वेबसाइट फ्लाइटअवेयरका १ हजार १ सय ६० उडानमा ढिलाइ भएको जानकारी दिएको छ । उडान सञ्चालन गर्न आवश्यक पर्ने आपत्कालीन जानकारी दिने ‘नोटिस टु एयर मिसन सिस्टम’ (नोटाम) पूर्ववत सञ्चालन नभएको बताएका छन् ।

नोटामले उडानका लागि रियल टाइम सुरक्षा जानकारी उपलब्ध गराउँछ । अमेरिका एयरलाइन्स एसोसिएसनले एयरलाइन्स फर अमेरिकाले उडानमा समस्या आएको बारेमा जानकारी प्राप्त भएको जनाएको छ । ‘हामी एफएएसँग काम गरिरहेका छौं र समस्या समाधान भएपनि थप जानकारी गराउने छौं’ एयरलाइन्स फर अमेरिकाले जनाएको छ ।

नोटाममा विमानस्थलको मौसम र ट्याक्सीवेको गतिविधिजस्ता आधारभूतदेखि अन्तरिक्ष यात्रा प्रक्षेपण वा राष्ट्रपतिको सवारी जस्ता कारणले अल्पकालीनरुपमा हवाइ क्षेत्र बन्द गरिएको समेतको जानकारी उपलब्ध गराउने गर्दछ । पाइलटका तालिम तथा अभ्यासको क्रममा यस्तो डेटामा आधारित हुन सिकाइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।