काठमाडौं । पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेलको निधन भयो ।
पौडेल प्रेस सेन्टरको पदाधिकारी बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । शनिबार पदाधिकारी बैठक सकेपछि उनको पोखरा घर फर्कने क्रममा हवाई दुर्घटनामा परी निधन भएको हो ।
पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य भएका थिए।
पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाको प्रकाशकरसम्पादकका थिए।
पौडेलको निधनमा नेपाल पत्रकार महासंघले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ । १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय पनि भएको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
यति जहाज दुर्घटना: पदाधिकारी बैठक सकेर फकर्दै थिए पत्रकार त्रिभुवन
Comments