काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन गरेका छन् ।
चाइनिज व्यबसायीक कम्पनी ’चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का पाएको एक सय १४ कीलोमीटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भैसक्नुपर्ने थियो । हाल एक वर्ष समय थप भएपनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्दै आएकोमा उपप्रधानमन्त्री आफैंले निर्माण प्रगतिबारे स्थलगत चासो लिएका हुन् ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमा निरीक्षणमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय, गैंडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसङ्ग योजना सुस्तताको विषयमा चासो राखेका छन् ।
कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत, ढल, कोभिड, क्रसर व्यबसायीका समस्या लगायतका कारण ढिलाई भएको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले निर्माण कार्य अब द्रुत र गुणस्तरीय गति लिनेगरी अगाडि बढाउन निर्देशन दिएका छन् ।