५७ अर्बका ठेक्कामा मन्त्री पाण्डेको कम्पनी, कति अझै अलपत्र

काठमाडाैं । निर्माण व्यवसायीका रुपमा पाण्डेले प्राप्त गरेको ‘विज्ञता’ सरकारी निर्माणमा सहयोगी हुने समर्थकहरुको दाबी, तर उनको विज्ञता बुझ्न १३ अर्बको सिक्टा आयोजनासम्म पनि पुग्नुपर्दैन, राजधानीकै गोकर्णदेखि नख्खु खोलासम्म ३ अर्बका अपूरा आयोजना हेरे पुग्छ
काठमाडौँ — कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे सहरी विकासमन्त्री बनेपछि उनको ‘विज्ञता’ ले सरकारी निर्माण प्रभावकारी हुने दाबी समर्थकहरूले गरेका छन् । तर, उनको विज्ञता कस्तो छ भन्ने बुझ्न १३ अर्बको सिक्टा सिँचाइ आयोजनासम्म पनि पुग्नुपर्दैन, १ अर्ब ९० करोडको गोकर्णदेखि भत्केको पुलसम्मको सडक र १ अर्ब ५ करोडको नख्खु खोला करिडोरसहित राजधानीकै सडक आयोजना हेरे पुग्छ । सहरी विकासका आयोजना अलपत्र पार्ने उनी सहरी विकासमन्त्री भएका छन् ।
पाण्डेको कालिका कन्स्ट्रक्सनले सडक, पुल, जलविद्युत् आयोजनाका करिब ५७ अर्बका ठेक्कामा काम गरिरहेको छ । यीमध्ये केही ठेक्काको काम अन्तिम चरणमा छ भने केहीमा म्याद सकिँदासमेत काम अधुरै छ । आयोजना अलपत्र पारेकामा कारबाही हुनुपर्नेमा अब उनी नीति–निर्माण गर्ने मन्त्रिपरिषद्मै छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको २७ अर्ब ८७ करोड ६१ लाख २३ हजार रुपैयाँको ठेक्का कालिकाले संयुक्त रूपमा लिएको छ । त्यसबाहेक ऊर्जा मन्त्रालयअन्तर्गत तनहुँ जलविद्युत् आयोजनामा २१ अर्ब ६६ करोड र सर्वोच्च अदालतको भवन निर्माणमा ५ अर्ब ८७ करोडको ठेक्कामा संयुक्त रूपमा कालिका संलग्न छ । संयुक्त (जोइन्ट भेन्चर) रूपमा ठेक्का लिइएको भए पनि अधिकांशमा काम कालिकाले एकल रूपमा गरिरहेको छ ।

पाण्डे आफैं मन्त्री बनेको सहरी विकास मन्त्रालयका मात्रै करिब तीन अर्ब रुपैयाँभन्दा बढीका ठेक्कामा कालिका कन्स्ट्रक्सन संलग्न छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयपछि सबैभन्दा बढी ठेक्कापट्टा हुने मन्त्रालयमा सहरी विकास पर्छ ।

मन्त्रालयअन्तर्गत वाग्मती सुधार आयोजनामा वाग्मती सौन्दर्यीकरणको ठेक्कामा कालिका संलग्न छ । गोकर्ण ब्यारेजदेखि सिनामंगल भत्केको पुलसम्म सौन्दर्यीकरण गर्ने ठेक्का कालिका–रेनकिन–लामा जेभीले १ अर्ब ९० करोड रुपैयाँमा लिएको हो । यसका लागि सरकारले एसियाली विकास बैंक (एडीबी) बाट ऋण सहयोग लिएको छ । ०७३ कात्तिकमा भएको सम्झौताअनुसार यसको काम आगामी फागुन १६ भित्र सकिनुपर्नेछ । तर अहिलेसम्म १.९ किमि सडक कालोपत्र नै भएको छैन भने बिरुवा रोप्ने काम अझै सुरु भएको छैन ।

१८८ रोपनी क्षेत्रको जग्गाको मुआब्जा विवादले ढिलाइ भएको दाबी आयोजनाको छ ।

सहरी विकास मन्त्रालयकै नख्खु खोला करिडोरको ठेक्का कालिका–टुन्दी–कुमार जेभीले लिएको हो । १ अर्ब ५ करोड रुपैयाँको उक्त ठेक्काको भौतिक प्रगति ७६ प्रतिशत मात्र छ । मुआब्जाको समस्या भएकाले ठेकेदारले असार मसान्तसम्म समय मागेको आयोजनाले जनाएको छ । ‘ठेक्का सम्झौता ०७५ जेठ ३० मा भएको हो,’ आयोजना एक कर्मचारीले भने, ‘३ किमि दूरीमा पर्खाल निर्माण, ढलको पाइप बिझ्याउने र करिडोर निर्माणको काम गर्नुपर्ने हो, अझै काम सकिएको छैन ।’ त्यस्तै हनुमन्ते खोला–मनोहरा दोभानमा पनि सडक र पर्खाल निर्माणको काम सकिएको छैन ।

कालिका कन्स्ट्रक्सनका निकोलस पाण्डे भने सहरी विकास मन्त्रालयअन्तर्गत धेरै ठेक्का नरहेको दाबी गर्छन् । ‘करिडोर निर्माणमा ठेक्का छ, त्यसको काम अन्तिम चरणमा पुगेको छ, गोकर्ण ब्यारेज–सिनामंगल भत्केको पुल खण्डको काम एक महिनाभित्र सकिन्छ,’ उनले भने, ‘यो ठाउँमा पहिला जग्गा विवादले समस्या थियो, त्यसैले ढिला भएको हो ।’

नख्खु खोलाको काम पनि अन्तिम चरणमै रहेको र छिट्टै सक्ने उनको दाबी छ । कालिकाले लिएको एकल ठेक्कामा समस्या नरहेको पनि उनले बताए । ‘राम्रो काम गर्ने कन्स्ट्रक्सनभित्रै पर्छौं,’ उनले भने, ‘संयुक्त रूपमा लिएको ठेक्कामा कहींकतै समस्या हुन सक्छ तर लिएको ठेक्कामा ढिलाइ गरिएको छैन ।’

सडक विभागअन्तर्गत गल्छी–बेत्रावती– मैलुङ–स्याफ्रुबेंसी सडक खण्डअन्तर्गत ११ वटा पुल निर्माणको ठेक्का कालिका–टुन्दी–हिमदुङ एन्ड थोकर जेभीले लिएको छ । यसको ठेक्का रकम ५७ करोड ९५ लाख रुपैयाँमध्ये ४४ करोड ९३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । ०७३ कात्तिक २४ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ असार ८ भित्र काम सकिनुपर्ने हो । तर आयोजना अपूरो छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख ध्रुवकुमार श्रेष्ठका अनुसार ०७९ असारसम्म पुल निर्माण प्रगति ७७ प्रतिशत छ ।

११ वटा पुलमा अहिलेसम्म ९ वटाको निर्माण सम्पन्न भएको छ, जसमध्ये एउटा पुल निर्माण पूरा भए पनि सञ्चालनमा आएको छैन । ‘पहुँच सडक निर्माण भइनसकेकाले पुल नचलाइएको हो,’ प्रमुख श्रेष्ठले भने ।

देवीघाटको तादी खोलामा पुल बन्न बाँकी छ । उक्त पुलको बायाँपट्टिको जग तयार भइसकेको र दायाँपट्टिको जग तयार पार्न सुरु गर्दा मुद्दा परेको हुनाले ढिला भएको सडक योजना कार्यालय प्रमुख श्रेष्ठले बताए । ‘पुल बनाउने ठाउँमा घर रहेकाले मुद्दा परेको थियो,’ उनले भने, ‘अहिले त्यो विषय टुंगिसकेकाले काम सुरु भएको छ ।’ रसुवाको धुन्चे हुँदै आएको त्रिशूली खोला पुलमा बायाँपट्टि जग तयार भए पनि दायाँपट्टि जग निर्माण भएको छैन । ‘सबै काम असार मसान्तभित्र सक्ने लक्ष्य छ,’ श्रेष्ठले भने । कान्तिपुरबाट


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।