मध्यपहाडी राजमार्गः पुल र बाटोमा क्षति हुने गरी ढुंगा उत्खनन्

खोटाङ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत सेखुवा–चखेवा सडकखण्डमा निर्माण सम्पन्न पुल र पिच बाटोमा नै क्षति पुग्ने गरी ढुंगा माटो तथा गिटी उत्खनन्को काम भइरहेको पाइएको छ ।

सेखुवा खोलाको पुल र आसपासको पिच सडक बाटो नै क्षति हुने गरी त्यहाँ ढुंगा निकाल्ने काम भइरहेको पाइएको हो । सेखुवा–चखेवा सडकखण्डको १० किमी बाटो विगत सात वर्षदेखि ठेकदार कम्पनीले निर्माण सम्पन्न नगर्दा अलपत्र जस्तै बनेको छ ।

सिद्धिसाई, भारत कन्स्ट्रक्सनरमैनाचुली जेभीले ठेक्का लिएको बाटोमा उक्त कम्पनीका प्रतिनिधिले निर्माण सम्पन्न भईसकेको पुल र सडक डिभाइडर तथा वालमा क्षति पुग्ने गरी ढुंगा निकालिरहेको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार उक्त कम्पनीका प्रतिनिधिले यसअघि पनि यसरी नै जथाभावी ढुंगा गिटी निकालेर अन्यत्र बिक्री गर्ने गरेको बताउँछन् ।
सिद्धिसाई, भारत कन्स्ट्रक्सनरमैनाचुली जेभीले उक्त सडकखण्डमा सात वर्षसम्म कालोपत्रे नगरेपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजाको कार्यालय, धुलीखेलले सो ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिसकेको छ ।

मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईसँग आगामी असारसम्म उक्त सडकको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्रतिवद्धता जनाएको महिना दिन बित्न लाग्दा पनि कामले भने गति नलिएको स्थानीयहरु बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।