काठमाडौं । विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।
थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको कुराकानीको अडियो प्राप्त भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरेको हो ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार घुस मागेको अडियो प्राप्त भएपछि यसबारे जाँचबुझ गर्न मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो । मन्त्रालयले यस विषयमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गर्ने जनाएको छ ।
के छ अडियोमा ?
अडियो संवादमा आथिृक लेनदेनको विषय स्पष्ट खुलेको छ । तर, कुन प्रयोजनका लागि रकमको लेनदेनको कुरा भएको हो खुल्दैन । संवादका क्रममा कम्पनीका प्रतिनिधिले रकम खर्चिंदा समस्या रहेको बताएपछि ठाकुरले ‘रवि’को नाम लिंदै उसैसँग कुरा भइसकेको बताउँछन् । कुराकानीमा रवि को हुन् भन्ने स्पष्ट खुल्दैन । तर, थाइ स्माइल एयरवेजका ‘जीएसए’ (जनरल सेल्स एजेन्ट) रवि सिंहको नाम लिन्छन् ।
ठाकुरले थाइ एयरवेजको सबै काम बैंककबाट हुने कुरा थाहा भएको र ‘रवि’ले सबै कुरा भएर टुंगिसेकको बताएको दोहोर्याउँछन् । उनीहरुबीच पैसाको कुरा हुन्छ । ठाकुरले रविले नै सबै बन्दोबस्त गर्न सक्ने बताउँछन् ।
तर, कम्पनीका प्रतिनिधिले पैसा निकाल्न ‘इभोइस’ (बिल) चाहिने बताउँछन् । ठाकुरले रविसँग कुरा भइसकेको र उसैले व्यवस्थापन गर्न सक्ने दोहोर्याइरहन्छन् ।
कम्पनीका प्रतिनिधिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पैसा दिन तयार रहेको बताउँछन् । ठाकुरले ‘जीएसए’ ९जनरल सेल्स एजेन्ट०ले व्यवस्थापन गर्ने भन्दै फेस्टिभल र कार्यक्रमहरु आयोजना गर्न सकिने पनि बताउँछन् । उनले वेल्फेयर ९कल्याणकारी० फन्डबाट पनि व्यवस्थापन हुनसक्ने विकल्प दिन्छन् ।
तर, कम्पनीका प्रतिनिधिले समस्या दर्शाइरन्छन् । तर, ठाकुरले ‘रवि’सँग कुरा भइसकेकाले इन्भोइसको चिन्ता नगर्न र कम्पनीका बोससँग कुरा गर्न पनि भन्छन् । रवि आइतबार मलेसियाबाट फर्किने र त्यसपछि कुरा गर्ने बताउँछन् ।
कम्पनीका प्रतिनिधिले ३ लाख पर्याप्त हुन्छ कि हुँदैन भनेर प्रश्न गर्छन् । ठाकुरले भन्छन्,‘ धेरै दबाब छ, रविसँग कुरा गर्नूस्, अनि फाइनल गरौंला ।’