काठमाडौं । मौद्रिक नीतिको अर्धबार्षिक समीक्षापछि सेयर बजार ठूलो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गरेको थियो । उक्त समीक्षामा केन्द्रिय बैंकले लगानीकर्ताले गरेका मागहरु सम्बोधन नगरेपछि बजार निराश बन्यो ।
आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ। यस दिन नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा झरेको छ। आइतबार कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ। यस दिन ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ।
मौद्रिक नीतिको समीक्षामा शेयर धितो कर्जाको सिमा बढ्ने, जोखिम भारित औसत घटाउने लगायतका मागहरु सम्बोधन हुने अपेक्षा गरिएको थियो तर ती मागहरु सम्बोधन नहुँदा बजार नकारात्मक देखिएको छ। यता वाणिज्य बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर नघटाउने निर्णय गर्दा पनि बजार सकारात्मक हुन सकेको छैन।