काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीबारे प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अनुसन्धान सुरु भएको जनाएका छन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध युवराज सफलले दिएको जाहेरी लिन नमानेको प्रहरीले अहिले भने यसबारे अनुसन्धान थालेको हो ।
१७ माघमा लामिछानेविरुद्ध जाहेरी दिन जाँदा अदालतको आदेशको पूर्णपाठ नभएको भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन । खारेज भइसकेको नागरिकताको आधारमा राहदानी लिएको भन्दै लामिछानेविरुद्ध राहदानी ऐनविरुद्धको कसूर गरेको अभियोगमा पनि कारबाही हुनुपर्ने सफलको माग छ ।
प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि उनले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा निवेदन पनि दिएका छन् । उनी सरकारी वकिलसम्म पुगेपछि प्रहरीले अनुसन्धान थालेको हो ।