फड्को मार्दै सूचना प्रविधिः झन्–झन् घट्दै ‘क्यान मेला’को ओच र गुणस्तर

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) को आयोजनामा गत २४ देखि २९ माघसम्म भृकुटीमण्डपमा चलेको क्यान मेलाको २८ औं संस्करण सम्झनेहरुले भन्ने गरेका छन्, ‘अहिलेसम्मकै सबैभन्दा कमजोर र गुणस्तरहिन मेला देखियो ।’
क्यान मेलामा नयाँ सूचना प्रविधि बारे जान्न र बुझ्न आउने गरेका हुन्छन् । तर, २८ औं संस्करणको क्यान मेला धेरै पक्षमा कमजोर देखियो । क्यान नेतृत्वको कमजोरीका कारण मेला अवलोकन गर्नेहरु निराश बनेर फर्किन बाध्य देखिए ।
स्याङ्जाका केपी खनाल प्रोजेक्टरबारे बुझ्न क्यान मेलामा पुगेका थिए । उनले प्रोजेक्टर भएको एउटाबाहेक अरु स्टल नै भेटेनन् । ‘उनी सम्झदै भन्छन्, ‘अरु बेलाका क्यान मेलामा यस्ता स्टलहरु ५÷६ वटा हुन्थे, यो पटक एउटा मात्र रहेछ क्यान मेलाको गुणस्तर घटेको पाए, अन्तै गएर प्रोजेक्टर लिए ।’
खनालको के कुरा, काठमाडौंमा बसेर अध्ययन गरिरहेकी रिना शर्मा क्यानबारे बुझ्न र एउटा पेन ड्राइभ लिन त्यहाँ पुगेकी थिइन् । उनले पनि पेनड्राइभ भएको एउटा भन्दा दोस्रो स्टल भेटिनन् । ‘एउटा मात्र स्टल थियो, त्यो पनि बजारमा पाइने भन्दा महंगो, यस्तो क्यान मेला अघिल्ला वर्षहरुमा देखिएको थिएन ।’ उनले भनिन् ।
मेला अवलोकन गरेका कतिपयले त आगामी वर्षका क्यान मेला अवलोकन गर्न नआउने समेत बताइरहेको पाइन्थ्यो ।
क्यान महासंघको नयाँ नेतृत्व चयनसँगै क्यान मेलालाई सही रुपमा व्यवस्थापन गर्न चुक्दा दिनदिनै सूचना प्रविधिको विकासले फड्को मार्दा यहीँसँग सम्बन्धित क्यान मेलाको भने ओच र गुणस्तर घट्दै गएको हो ।
सूचना र प्रविधिको जानकारी दिन क्यानले मोफसलहरुमा पनि मेला आयोजना सुरु गरेको छ । तर, उक्त मेलामा पनि गुणस्तरीयता प्रदर्शन गर्नु भन्दा स्थानीय तहहरुबाट पैसा उठाएर फाइदा उठाउनेमा क्यानका पदाधिकारीको बढी जोड रहेको आरोप लाग्ने गरेको पाइएको छ । क्यानलाई अलिक फरक ढंगले सोचेर अघि बढ्नुपर्ने र यस्तै हो भने मेला नै नगर्दा हुने यस क्षेत्रका सरोकारवालाहरु बताउँछन् ।

क्यान मेलाको सामानको गुणस्तरमा पनि प्रश्न
क्यान मेलामा विभिन्न कम्पनी तथा व्यवसायीहरुले विशेष छुट प्रदान गर्ने गरेका छन् । त्यस्तो छुटमा सामान खरिद गरेपनि उपभोक्ताले गुणस्तरमाथि पनि प्रश्न गरेको पाइएको छ ।
मिति सकिन लागेको तथा कतिपय त रिलेबलिङ गरेर पनि सामान बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । यस्ता मेलाहरुमा छुटमार्फत बिक्री वितरण गर्ने सामाग्रीको पनि अनुगमन गरिनुपर्ने उपभोक्ताहरुको माग छ ।

मोफसल कस्तो होला त ?
काठमाडौंकै क्यान मेलामाथि गुणस्तर लगायत विषयमा प्रश्न उठिरहेका बेला क्यानले मोफसलमा गर्ने मेलामा व्यापारीले सस्तो र गुणस्तरहिन सामाग्री बिक्री गरेर ठग्ने सम्भावना बढेको छ ।
विशेष छुटको अवसरमा गुणस्तरहिन सामग्री बेचेर मोसफलका उपभोक्ता ठगिन सक्ने भन्दै कतिपयले चासो र चिन्ता व्यक्त गरेको समेत पाइएको छ ।
क्यानले मोसफलमा नयाँ सुचना प्रविधिको विकासमा लागि भन्दा पनि कसरी हुन्छ मुनाफा कमाउने ध्यान दिएको समेत पाइन्छ ।
क्यानले फागनु १६ देखि २० सम्म सुदुरपश्चिमको धनगढीको मेला गरेको थियो । अब २ देखि ६ चैतसम्म बागमतीको हेटौंडामा मेलाको आयोजना गरेको छ । प्रदेशस्तरीय क्यान मेला गर्ने क्यानको तयारी छ । तर, गुणस्तर र उपभोक्तालाई बढी भन्दा बढी सूचना र प्रविधि सम्बन्धी कसरी जानकारी दिने भन्नेमा क्यानको ध्यान कम रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।