काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता गिरोह सञ्चालन गरिरहेका सञ्जालका मुख्य नाइकेहरु आइतबार अपराह्न काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले गिरोहले पाँच वर्षयता झन्डै ५ अर्ब ठगी गरेको अनुमान छ ।

भुटानी शरणार्थी समस्या समाधानमा २०७६ सालमा बनेको गृह मन्त्रालयको ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समस्याका समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन’ मा नक्कली अनुसूची थप्दै झण्डै १ हजार गैर शरणार्थीबाट १० देखि ४० लाख रुपैयाँसम्म उठाउने गिरोहका मुख्य योजनाकार मोरङका केशव दुलालसहित पक्राउ परेका हुन् । दुलाल कांग्रेस नेता सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनका सहयोगी थिए । राजनीतिक पहुँचकै आधारमा दुलालले यस्तो धन्दा गरेको अनुमान गरिएको छ ।

दुलालसहित सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका छन् । यो गिरोहले देशैभर आफ्नो सञ्जाल विस्तार गरेको र त्यसका आधारमा विभिन्न तहको प्रभाव–पहुँच देखाउँदै रकम उठाउँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।