निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ ।

आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि आयोगले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतबारै जवाफ आएको बताए । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ । निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हुलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो । उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।