टोप बहादुरलाई जोगाउन ओलीको ‘दौड’

काठमाडौं । अदालतले पक्राउ पुर्जी जारी गरेका एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई जोगाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दौडधुप गरेका छन् ।

ओलीले उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई प्रहरीले बाटोबाटै समातेर हत्कडी लगाउन खोजेको भन्दै सो घटना रहस्यमय रहेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विरोध जनाएका छन् ।

सिंहदरबारमा आफैं पुगेर ओलीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सन्दर्भमा प्रहरीले नियन्त्रणमा लिन खोजिरहेका एमाले सचिव टोपबहादुर रायमाझीका सन्दर्भमा पटक–पटक सांसद, मन्त्री र उपप्रधानमन्त्री भइसकेको बहालवाला सांसदलाई बाटोबाटै हत्कडी लगाउनु आवश्यक नरहेको बताएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।

नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।