२६ वैशाख २०८०, काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेले आरोपितलाई संरक्षण गर्दा अनुसन्धान कार्य नै प्रभावित बनेको छ । अदालतले पक्राउ पुर्जी जारी गरेको एमाले सचिव टोपबहादु रायमाझीलाई पार्टीले संरक्षण गरेको पाइएको हो ।
टोपबहादुरलाई पक्राउ पुर्जी जारी भएको दिन एमालेबाट सभामुख बनेका देवराज घिमिरे सँगै रहेका थिए । उनलाई लुकाउन सो दिन सभामुखको समेत भूमिका रहेको आरोप छ ।
त्यसपछि नियमित रुपमा उनको बचाउमा एमाले नेतृत्व लागेको पाइएको छ । टोपबहादुरको विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली दुई पटक प्रधानमन्त्री भेट्न सिंहदरबार पुगिसकेका छन् ।
भेटमा उनले टोपबहादुरलाई पक्राउ नगर्न दबाब दिएको बुझिएको छ । पक्राउ पुर्जी जारी भएपछि ओलीले बाटो बाटोमा पक्राउ गर्न नपर्ने मान्छे भएको भन्दै टोपबहादुरको सार्वजनिक रुपमा नै संरक्षण गरेका थिए । स्रोतका अनुसार एमालेले प्रधानमन्त्रीदेखि प्रहरी प्रशासनसम्म टोपबहादुरलाई बचाउ गर्न दबाब दिएको बताइएको छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ भने छोरा सन्दीपलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।
नाइकेहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परेपछि उनीहरूबाट बरामद प्रमाण तथा बयानका आधारमा प्रहरीले थप अनुसन्धान गरेको हो । प्रहरीले आरोपितहरूको बैंकिङ कारोबारलाई पनि पछ्याउँदै अनुसन्धान गरिरहेको छ ।

