Wednesday, August 19, 2026
21.1 C
Kathmandu
Home ब्यानर कारबाट झरेर अमानवीय ढंगले यसरी गरियो साइकल यात्रीमाथि क्रुर ढंगले कुटपिट

कारबाट झरेर अमानवीय ढंगले यसरी गरियो साइकल यात्रीमाथि क्रुर ढंगले कुटपिट

फोटोः देशसञ्चारको फेसबुक पेजको भिडियोबाट साभार

काठमाडौं २६ असार । दुई व्यक्ति दुई वटा साइकलमा सवार हुन्छन् । विपरित दिशाबाट सवार एउटा कारबाट दुई व्यक्ति झरेर एउटा साइकलमा सवार व्यक्तिलाई बंक्सिंगले हानेर सडकमा लडाउँछन् । उनी रगतामम्मे हुने गरी सडकमा पछारिन्छन् । लगत्तै उनलाई घिसारेर छेउमा ल्याएर छाडिन्छ । हो त्यहीँ घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । मानवको नाममा क्रुरता देखाएको भन्दै तत्काल कारबाही गर्न माग भइरहेको छ ।

घटना विराटनगरको हो । साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ समेत परिसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अरु २ जना फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । फरार भएका कुशल र रोशनको खोजतलास जिल्ला प्रहरी कार्यालय मोरङबाट भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।