काठमाडौँ ९ साउन । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियाले नक्कली मोहीलाई प्रतिरोपनी ६ लाख रुपैयाँसम्म दिएर हडपेको खुलेको छ । किर्ते कागजातका आधारमा नक्कली मोहीका नाममा जग्गा लगिएको र लगत्तै मोही बनाइएकालाई उक्त रकम दिएर भूमाफियाले आफू र परिवारका सदस्यका नाममा लगेको अनुसन्धानबाट खुलेको हो ।
कर्मचारीलाई हातमा लिएर किर्ते कागजात तयार पारी गिरोहले जोतभोग गर्न दिएका किसानलाई ललिता निवासको जग्गामा मोही दाबी गर्न लगाएको र मोहीका नाममा गएलगत्तै आफू र परिवारका नाममा लगेको अनुसन्धानबाट पत्ता लागेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्नविरुद्ध किर्ते र संगठित अपराधका दफा लगाएर अनुसन्धान जारी राखेको छ । अनुसन्धानले देखाएअनुसार लक्ष्मीनारायण महर्जन, मयजु महर्जन, रामकृष्ण महर्जन, बेखानारायण महर्जन, माया प्रजापति, अष्टनारायण महर्जन, चैत्यनारायण डंगोल, दिलबहादुर महर्जन, मोहन महर्जन, पञ्चनारायण महर्जन, पूर्ण महर्जन, रामदेवी महर्जन, बसनारायण महर्जन, आशनारायण महर्जन, देवनारायण महर्जन, हेरामाया महर्जन, सानुकान्छा महर्जन, लक्ष्मी महर्जन, अर्जुन महर्जन, तीर्थमाया महर्जन, साहिँला महर्जन, जोगलाल महर्जन, न्हुच्छेमाया महर्जन, सञ्जयकुमार महर्जन, कान्छा महर्जन र सकुलानन्द महर्जनले नक्कली मोही बनेबापत ललिता निवासको जग्गा पाएका थिए ।
त्यसपछि भूमाफियाले उनीहरूका नाममा आएलगत्तै रोपनीको सरदर ६ लाख रुपैयाँ दिएर उक्त जग्गा हात पारेको थियो । नक्कली मोहीबाट रामकुमार सुवेदी र उनकी पत्नी माधवी, शोभाकान्त ढकाल तथा उनकी पत्नी उमाकुमारी, मीनबहादुर गुरुङ र उनकी पत्नी सरला घलेसहितका नाममा पुगेको थियो । पछि यो गिरोहले जग्गा प्लटिङ गरेर तेस्रो पक्षलाई बिक्री गरेको खुलेको छ ।
नक्कली मोही बनेर जग्गा हिनामिना गर्नेमध्येका सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ । आफ्ना नाममा जग्गा आएलगत्तै सञ्जयले मीनबहादुर गुरुङकी पत्नी सरला घलेका नाममा पास गरिदिएका थिए । त्यस्तै सकुलानन्दले माधवी सुवेदी र उमाकुमारी ढकालका नाममा पास गरिदिएका थिए । नक्कली मोही बनेबापत पाएको जग्गा आफ्ना भूमाफियालाई दिँदा महर्जनद्वयले रकम हात पारेका थिए । कान्तिपुरमा समाचार छ ।