काठमाडौं १० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रहित विपरी र संगठित अपराध भएको बताएका छन् । उनले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको पनि बताएका छन् ।

गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरे ।

आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएलगत्तै बेथिति नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी गरेको उनले बताए । सरकारको यो काममा सबैको साथ पाउने विश्वास उनले व्यक्त गरे । उनले शरणार्थी प्रकरणमा राष्ट्रहित विपरीतको काम भएको देखिएको जनाउँदै सरकारले फोहोर सफा गर्न यो कदम चालेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए । ‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ,’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।