काठमाडौं ११ साउन । राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल हुँदै करिब एक क्वीन्टल सुन अवैध रुपमा ल्याउने रेडी ट्रेडर्समा ढिला गरी छापा मारेको छ । विभागले विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भइसकेको अवस्थामा २ गते एक क्वीन्टल सुन बरामद गरेको थियो ।
बरामद गरिएको सुन रेडी ट्रेडर्सबाट आएको तत्काल खुलेपनि विभागले प्रा.लिको कार्यालयमा ९ दिनपछि मात्र हिजो बुधबार छापा मारेको हो । यति लामो समयपछि मात्र छापा मार्दा कार्यालयमा सुन लुकाएको भएपनि अन्यत्र भगाउन समय दिएकाे भन्दै राजस्वको ढिलाईप्रति कतिपयले आशंका पनि व्यक्त गरेका छन् ।
राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौंको सोह्रखुट्टेमा रहेको कम्पनीको गोदाममा छापा मार्दा थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । जसमध्ये प्रारम्भिक परीक्षणमा आधाभन्दा धेरै ब्रेक शु फुक्लिएको पाइएको विभागले जनाएको छ । त्यसबाट तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको अनुमान छ । गोदामबाट ब्रेक शुबाट सुन पगाल्ने उपकरण एक थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।
सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिले पछिल्लो २ महिना भित्र आयात गरेको सबै ब्रेक शुभित्र सुन लुकाएर ल्याएको आशंका राजश्व अनुसन्धान विभागले गरेको छ ।
सोह्रखुट्टेको गोदामबाट ६६ वटा प्याकेटमा ११ सय ६२ किलो ब्रेक शु बरामद भएको थियो । जसमा हरेक प्याकेटमा १० थानका दरले ब्रेक शु थियो । एक थानमा एक जोडी ब्रेक शु रहेकामा विमानस्थलमा बरामद भएकोमा एउटामा चाहिँ सुन रहेको जनाइएको छ । २०७९ चैत १९ गते खुलेको कम्पनी रेडी ट्रेडर्सले २ साउनसम्म १ हजार ३१७ किलो ब्रेक शु आयात गरेको देखिएको छ ।








