सिन्धुपाल्चोक — भूकम्प र परकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाकामा सर्वसाधारणको आउजाउ खोल्न भौतिक पूर्वाधार र अन्य पुनर्निर्माण तयारी थालिएको छ । भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने तातोपानी नाकाबाट यसअघि गत वैशाख १८ मा निर्यात खुलाइएको थियो ।

नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको एघारौं बैठकले तातोपानीलाई आगामी दुई महिनाभित्रै सर्वसाधारणका लागि समेत खुलाउने सहमति गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जनाए । गत आइतबार तिब्बतमा सम्पन्न बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीसहित सात सदस्यीय टोली र चिनियाँ प्रतिनिधि बसेर आउँदो सेप्टेम्बरभित्र मानिसका लागि खुला गर्ने निर्णय गरिएको उनले बताए । ‘माथिल्लो तहमा नाका खोल्ने निर्णय भएकाले त्यहीअनुरूप समन्वय र तयारीमा जुट्दै छौं,’ न्यौपानेले भने ।

यसअघि तीन पटकसम्म नेपालबाट जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनको न्यालम काउन्टीका अधिकारीहरूबीच छलफल भएको थियो । यसअघि मितेरी पुल पारि चिनियाँ प्रशासनिक भवनमा बसेको सीमा सुरक्षा बैठकमा चीनले ‘क्रस बोर्डर क्राइम’ लाई मुख्य विषय बनाएर सीमाबाट निर्यातसहित कोरोनासम्बन्धी सावधानी अपनाउने, सूचना सम्प्रेषण, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था, अपराध नियन्त्रणमा संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता विषयमा छलफल गरेको थियो ।

सर्वसाधारणका लागि आउजाउ खुला गर्नेबारे कार्यालयमा आधिकारिक केही नआएको र पछिल्लो खबरबारे नीतिगत अवधारणा कुरा बुझ्न छलफल भइरहेको तातोपानी अध्यागमन कार्यालयका प्रमुख रवीन्द्र पोखरेलले बताए । वैशाख १८ मा निर्यात खुलेयता उल्लेख्य आयात–निर्यात हुन नसकेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीको भनाइ छ । यसअघि ७ वटा कन्टेनरबाट मुडा, बाँस, भाँडाकुँडालगायतका ४२ लाख बराबरका सामग्री निर्यात भएका थिए । ‘निर्यात लगभग ठप्प जस्तै छ, दिनको ४ देखि ५ कन्टेनर चीनबाट आइरहेका छन् । न्यून कन्टेनर भित्रिने भएकाले लक्ष्यअनुरूप राजस्व संकलन हुन सकेको छैन,’ केसीले भने । गत आर्थिक वर्षमा ४ अर्ब ६२ करोड लक्ष्य राखिएकामा ३ अर्ब २७ करोड मात्रै संकलन गरिएको उनको भनाइ छ । यस वर्ष सर्वसाधारणका लागि नाका खुल्ने खबरले ४ अर्ब ८० करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । कान्तिपुरबाट साभार ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।