प्रेममा पारेर नग्न भिडियो रेकर्ड गरी फेसबुकमा हाल्ने प्रकाशलाई मलेसियाबाट यसरी ल्याइयो नेपाल

म्याग्दी साविकको अर्मन गाविस–२ ठेगाना भएका २७ वर्षीय प्रकाश विक रोजगारीका लागि मलेसिया पुगेका थिए । उनको ध्यान त्यहाँ रोजगारी गरेर आर्थिक उपार्जन वृद्धि गर्नेमा मात्र सिमित भएन । त्यहीँ भएर उनी नेपाल आउँदा त्रिभुवन विमानस्थलमा नै हत्कडीमा देखिनुपर्यो ।

उनले एक महिलालाई प्रेममा पारे र विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो, फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने काम गरे । ती महिलाले प्रकाशका यी गतिविधि सहन नसकेर फेसबुक एकाउन्ट नै डिएक्टिभ गरिन् । तर, प्रकाशको गलत कार्य रोकिएन अझ उनले ती महिलाको नाममा फेक एकाउन्ट बनाएर ती सामग्री पोर्न साइटमा समेत अपलोड गर्न भ्याए । त्यसपछि ती महिला प्रहरीको पुगिन् ।

प्रहरीले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर उनलाई मलेसियाबाट नेपाल ल्याएको हाे । पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाइ रेकर्ड गरेका नग्न भिडियो, फोटो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा ‘फेक एकाउन्ट’ बनाइ ती सामग्री पोर्न साइटमा अपलोड गरी चरित्रहत्या गरेको आरोप विकमाथि छ ।

साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएका विकलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेशियासँगको समन्वयमा सोमबार नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादी प्रकाश विकलाई सोमबार मलेशियाबाट नेपाल ल्याएर आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटीमा बुझाइ आवश्यक कारबाही सुरु भएको छ,ु प्रहरीले भनेको छ ।

विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको साइबर ब्युरो भोटाहिटीबाट अनुरोध प्राप्त भए बमोजिम उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २४ माघ २०७८ मा इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।