काठमाडौँ — भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने भनी साउन ४ मा गरेको निर्णयको फाइदा उठाउँदै उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ ।
विभागका तीन टोलीले गत सोमबार १८ वटा खुद्रा पसलमा अनुगमन गरेका थिए । त्यस क्रममा मसिनो चामलमा प्रतिबोरा (२०–२५ किलो) १ सय रुपैयाँ र मोटा चामलमा प्रतिबोरा १ सय ५० देखि २ सय रुपैयाँसम्म मूल्यवृद्धि गरिएको पाइएको छ ।
खाद्यान्नका होलसेल व्यवसायी एवम् टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुयालका अनुसार एक साताकै अवधिमा चामलको मूल्य किलोमा १४ रुपैयाँसम्म बढेको छ । एक साताअघि प्रतिकिलो ८२ रुपैयाँ पर्ने जिरा मसिनो चामल बढेर ९० रुपैयाँ पुगेको छ । ६२ रुपैयाँ पर्ने मोटा चामल ७६ रुपैयाँमा बिक्री भइरहेको छ । ‘भारतले निर्यात प्रतिबन्ध लगाउनुअघि नै आयात गरेको चामलमा मूल्य बढेको देखिन्छ,’ विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले भने, ‘खुद्रा पसलबाट खरिद र बिक्री बिलबीजक ल्याएर अध्ययन गरिरहेका छौं ।’
खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले ब्रान्डअनुसार चामलमा होलसेल मूल्यमै प्रतिबोरा ७५ रुपैयाँसम्म बढेको बताए । सरकारले कूटनीतिक पहलमार्फत तत्काल बन्देज नखुलाए मूल्य थप बढ्न सक्ने उनले बताए । ‘हामी आयातमै निर्भर छौं, आयातकर्ता कम्पनीहरूले मूल्य बढाएपछि अन्यमा पनि बढ्नु स्वाभाविक नै हो,’ श्रेष्ठले भने, ‘सरकारले तत्काल कूटनीतिक पहल गरेर समस्या समाधान निकाल्नुपर्छ ।’ उनले बजार अनुगमन खुद्रा, होलसेलभन्दा कम्पनीमै गर्नुपर्ने बताए ।
व्यवसायीहरू आयातकर्ता र कम्पनीबाटै मूल्य बढेर आएकाले होलसेल र खुद्रामा पनि त्यहीअनुसार बढी लिएको बताउँछन् । ‘भारतबाट चामल आएको छैन भन्दै कम्पनीले मूल्य बढाएपछि हामीले पनि बाध्य भएर बढी मूल्य लिएका छौं,’ एक होलसेल व्यवसायीले भने, ‘आयातकर्ता र कम्पनीले गोदामकै चामल (पुरानै चामल) मा मूल्य बढाएका हुन् ।’ साभार कान्तिपुर