काठमाडौं १९ साउन । नेपाल पत्रकार महासंघको नेतृत्वमा प्रेस रजिष्ट्रारको कार्यालय सूचना तथा प्रसारण विभाग घेराउ गरिएको छ ।
महासंघले श्रमजीवी पत्रकारको श्रम अधिकारको समस्याका बारेमा महत्वपूर्ण जिम्मेवारीमा रहेको प्रेस रजिष्ट्रारले समेत प्रभावकारी काम नगरेकोप्रति विरोध जनाउँदै कार्यालय घेराउ गरिएको जनाएको छ ।
हेर्नुहोस भिडियो:
घेराउपछि प्रेस रजिष्ट्रार अर्थात विभागका महानिर्देशक शंकर नेपाललाइ ज्ञापन पत्र बुझाएको छ । यस्तो छ ज्ञापन पत्र
मिति: २०८०।०४।१९
श्री प्रेस रजिष्ट्रारज्यू
संचारग्राम, काठमाडौं ।
विषय: ध्यानाकर्षण सम्बन्धमा ।
नेपाली संचार क्षेत्रमा श्रम अधिकारको मुद्दा शसक्त ढंगबाट उठ्दै आएको यहाँलाई अवगत नै छ । विषेशगरी श्रमजीवी पत्रकारहरूले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेको सेवासुविधा र न्यूनतम पारिश्रामिकसमेत प्राप्त गर्ने वातावरण नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानार्कषण भएको छ ।
पछिल्ला दिनहरूमा श्रमजीवी पत्रकारलाई ऐनले व्यवस्था गरेअनुसारको सेवासुविधा नदिई पारिश्रामिक कटौती गर्ने, समयमा पारिश्रामिक नदिने, सेवाबाट हटाउने तथा सेवाबाट हटाउँदा सेवासुविधा नदिने समस्या वृद्धि भएकाले श्रमजीवी पत्रकारको श्रम अधिकारको पक्षमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको जानकारी गराउँदछौं ।
श्रमजीवी पत्रकारको श्रम अधिकारको समस्याका बारेमा महत्वपूर्ण जिम्मेवारीमा रहेको प्रेस रजिष्ट्रारले समेत प्रभावकारी काम नगरेकोप्रति महासंघ गम्भीर चिन्ता प्रकट गर्दै निम्न बुँदामा ध्यानाकर्षण गराउँदछ ।
१.सम्मानित सर्वोच्च अदालतको आदेश र श्रमजीवी पत्रकार ऐनको व्यवस्थाअनुसार छुट्टै अधिकार सम्पन्न प्रेस रजिष्ट्रारको नियुक्तिको माग गर्दछौं ।
२. प्रेस रजिष्ट्रारको समेत भूमिकामा रहेको सूचना तथा प्रसारण विभागका महानिर्देशकले प्रेस रजिष्ट्रारको भूमिका र कार्य सम्पादन प्रभाकारी ढंगबाट गर्न माग गर्दछौं ।
३. श्रमजीवी पत्रकारका गुनासा र उजुरीलाई बिनाझन्झट र बिनासर्त दर्ता गरी प्रक्रिया अघि बढाउन माग गर्दछौ ।
४. श्रमजीवी पत्रकार ऐनले दिएको अधिकार प्रयोग गरी ऐन कार्यान्वयन नगर्ने संचार माध्यमका सेवासुविधा रोक्का गरी थप कारवाही गर्न माग गर्दछौं ।
५. श्रमजीवी पत्रकारका उजुरी तत्काल सुनुवाई गरी समाधान हुन नसकेमा तत्काल श्रम विभाग र श्रम अदालतमा जाने मार्गप्रशस्त गर्ने वातावरण निर्माण गर्न माग गर्दछौ ।
६. प्रेस रजिष्ट्रार कार्यालय र सूचना तथा प्रसारण विभागबाट प्रवाह हुने सेवा छिटो छरितो र सहज ढंगबाट प्रवाह गर्ने व्यवस्था गर्न माग गर्दछौं ।







