काठमाडौं २३ साउन । सरकारले विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि माओवादीभित्रै आलोचना बढेको छ।
माओवादीको काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले माओवादी रुपमान्तरण अभियान घोषणा गरेको दिन नै लामाले भने कोषको उपाध्यक्षमा नियुक्त पाएका थिए । उनी तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा अर्थराज्यमन्त्री समेत भएका थिए सो समयमा चौतर्फी विरोध भएपछि अर्थराज्यमन्त्री भएको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए।

किन विवादित छन् उनी
दोहोरो नागरिकता, भारतीय रासन कार्ड/राहदानी, तिब्बती शरणार्थी परिचयपत्र, वैदेशिक रोजगारीका नाममा ठगी र अकुत सम्पत्ति आदिका विषयमा उनी विवादित छन् । बैंकको लकरमा बन्दुकका गोली राखेको आरोपमा पनि उनी पक्राउ परेका थिए  । उनीमाथि स्वतन्त्र तिब्बत अभियानका नेता तथा बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रिचर्ड गेरसँग विशेष सम्पर्कमा रहेर काम गर्ने गरेको आरोप पनि छ ।

राजनीतिक आड, जहिल्यै शक्तिमा
उनी एमालेको पालामा समानुपातिक सभासद बनेका थिए भने त्यसअघि नेपाली कांग्रेसले उनलाई गुम्बा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो। कांग्रेस र एमालेबाट लाभ लिईसकेपछि उनी तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए। माओवादीले लामालाई २०७१ सालमा समानुपातिक सभासद बनाएको थियो। ०७० मंसिरको चुनावअघि कात्तिकमा उनी माओवादी प्रवेश गरेका थिए । यही बेला मकाउ पठाउने भन्दै केही युवाबाट दुई करोड रुपैयाँ ठगेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो ।

के भन्छन् माओवादी नेता कार्यकर्ता
उनको नियुक्ति लगत्तै माओवादी नेता कार्यकर्ताले भने नेतृत्वको आलोचना गरेका छन् । मन्त्रीपरिषद निर्णयबाट उनी नियुक्त भएपछि पार्टी नेतृत्व तथा प्रधानमन्त्रीको समेत नाम जोडिन पुगेको छ । माओवादी नेता लेखनाथ न्यौपानेले रुपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय भएको भन्दै बैठक सकिएकै दिन लुम्बिनीबाट शुरु भएको भनेर आलोचना गरेका छन् । अर्का नेता सुर्य सुवेदी पथिकले पनि पहिलो गाँसमै ढुंगा भन्दै नियुत्तिको विरोध गरेका छन् । यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन्, नियुक्तिको पार्टी पंक्तिभित्रैबाट चर्को आलोचना भइरहेको छ ।


Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।