काठमाडौँ — ठेकेदारलाई नियमन गर्ने निकाय सडक विभागकै कार्यालय भवन निर्माणको काम ७ महिनादेखि अलपत्र छ । साइट क्लियर नहुँदा काम अघि बढ्न नसकेको हो । सडक डिभिजन कार्यालय काठमाडौंले समयमा नै साइट क्लियर नगर्दा निर्माण अघि नबढेको निर्माण व्यवसायीको गुनासो छ ।

मीनभवनस्थित हेभी इक्विपमेन्ट कार्यालय परिसरमा विभागको भवन निर्माणका लागि ०७९ पुस १४ मा ठेक्का सम्झौता भइसकेको हो । कवीन्द्र–क्रिस जेभीले ५७ करोड ६० लाख रुपैयाँमा ठेक्का सकारेको हो । ०८२ पुस १३ भित्र सकिसक्नुपर्ने निर्माणको रेखदेख सडक डिभिजन काठमाडौंले गरिरहेको छ ।

हेभी इक्विपमेन्टका सामान नहटाउँदा निर्माणको काम अघि बढाउन नसकिएको कवीन्द्र निर्माण सेवाका अध्यक्ष कवीन्द्र महर्जनले बताए । ‘निर्माणस्थलमा रहेका सामग्री चाँडो हटाइदिन माग गर्दै डिभिजन सडक, सडक विभाग र मन्त्रालयलाई चिठी लेखिसकेका छौं,’ महर्जनले भने ।

‘हामी तयारी हालतमा भए पनि जनशक्ति र इक्विपमेन्ट त्यसै बसिरहेको छ । साइटमा निर्माण सामग्री लगेर राखिए पनि काम गर्न पाइएको छैन,’ उनले भने । काठमाडौं महानगर र हेभी इक्विपमेन्ट कार्यालयका सामान नहटाउँदासम्म काम गर्न सक्ने अवस्था नरहेको महर्जनको भनाइ छ ।

‘ठेक्का लगाउने निकायबाट नै साइट खाली गर्न ढिला गर्दा समयमै काम नसकिने निश्चित छ,’ महर्जनले भने, ‘ठेक्का हुनासाथ काम गर्न दिएको भए अहिलेसम्म निर्माणमा निकै प्रगति भइसक्थ्यो ।’ अब हतारमा काम गरे पनि समयमै सक्न समस्या हुने उनले गुनासो गरे । ‘ठेक्का लगाउने निकायले नै काम गर्न साइट दिँदैन,’ उनले भने, ‘पछि काम गरेन, समयमै सकेन भन्दै उल्टै ठेकेदारलाई नै बदनाम गराउने गरिन्छ ।’ काम गर्छु भन्नेलाई रोक्न नहुने उनले बताए । कान्तिपुरबाट साभार

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।