Tuesday, July 28, 2026
Home ब्यानर विद्या भण्डारी पार्टी राजनीतिमा आउने कुराले झस्किए ओली

विद्या भण्डारी पार्टी राजनीतिमा आउने कुराले झस्किए ओली

काठमाडौं २८ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय पार्टी राजनीतिमा फर्किने विषयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने झस्किएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय गराउन खोज्नु पार्टीभित्र समस्यामा ल्याउने प्रयास भन्दै टिप्पणी गरेका छन् ।

भण्डारी राष्ट्रपति हुनुपूर्व पार्टी उपाध्यक्ष रहेकी थिइन् । राष्ट्रपति भएपछि उनी स्वतन्त्र भूमिकामा रहिन् । अहिले पुनः पार्टी राजनीतिमा आउने चर्चा चल्न थालेपछि ओलीले भने त्यसलाई अस्वीकार मात्रै गरेका छैनन् पार्टीभित्र समस्या ल्याउने प्रयास भन्दै कडा आलोचना गरेका छन् ।

‘पार्टीभित्र कुनै समस्या आउँछ कि ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ’ ओलीले भने, ‘यस प्रकारको प्रयासहरुलाई नबुझिकन मलजल गरिन्छ क्या कहिलेकाहिँ । त्यो नगर्दा खेरि राम्रो हुन्छ भन्ने लाग्छ ।’ उनले पत्रकारको प्रश्नमा भने ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउन विष्णु पौडेललगायत नेताले भेटेकोबारे जिज्ञासा राखेका थिए । प्रश्न सुन्नेबित्तिकै ओली चिढिएका थिए ।

गत फागुनमा दुई कार्यकाल राष्ट्रपति भएर बाहिरिएकी भण्डारीले पछिल्लो समयमा एमालेका नेताहरुसँग भेटघाटलाई तीव्र पारेकी छिन् । पार्टीदेखि जनवर्गीय संगठनका नेताहरुलाई बुढानीलकण्ठ भंगालस्थित निवासमै पटक(पटक छलफल गर्दै आएकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।