कान्तिपुरका पत्रकारद्धारा श्रम अदालतबाट मुद्दा फिर्ता

काठमाडौं । कान्तिपुरमा कार्यरत पत्रकारहरुले श्रम अदालतमा दर्ता गरेको मुद्दा फिर्ता लिएका छन् । कान्तिपुर पब्लिकेशनले पत्रकार तथा कर्मचारीहरुको सरुवा तथा अवकाश बदर गरेसँगै निवेदकको तर्फबाट मुद्दा फिर्ता लिएको श्रम अदालतले जनाएको छ ।

संघर्ष समितिका संयोजक टिकाराम प्रधानले कान्तिपुरले यसअघि गरेका सबै कारबाहीलगायतका निर्णय फिर्ता लिएकाले मुद्दा फिर्ता लिएको जनाएका छन् । कान्तिपुर छाड्न चाहनेहरुका विषयमा भने कुनै समझदारी नभएको उनले बताए ।

कान्तिपुरले नियम विपरित विभिन्न पत्रकारलाई सरुवा गर्ने, हटाउने गरेपछि नेपाल पत्रकार महासंघको अगुवाई आन्दोलन भएको थियो । आन्दोलनपछि कान्तिपुरले कानुनी व्यवस्था अनुसार पारिश्रमिक लगायतका सेवा सुविधा दिने, सरुवा, अवकाश फिर्ता लिने लगायतको चार बुँदे सहमति गरेको थियो । आन्दोलन जारी रहेकै बेला कान्तिपुरमा कार्यरत पत्रकार श्रम अदालत पनि पुगेका थिए ।

कान्तिपुरले संस्था छाडेर जानेलाई विद्यमान कानूनी व्यवस्था अनुसार पारिश्रमिक दिने सहमति गरेको छ भने कान्तिपुरले यसअघि अवकाशको थमौती दिईसकेकाहरु कान्तिपुरबाट पाउने सेवा सुविधा लिएर बाहिरिन चाहेको पाइएको छ ।

संस्था छाडेर जाने विषयमा भने संस्था र पत्रकारबीच कुनै सहमति हुन सकेको छैन । कतिपय पत्रकारहरु भने नियम अनुसार सेवा सुविधा उपलब्ध गराउन माग गर्दै आफूहरु काममा नफर्कने जनाउँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।