माओवादी मन्त्रीद्धारा कांग्रेस नेतालाई विद्युत प्राधिकरणमा नियुक्ति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले नेपाली कांग्रेसका नेतालाई विद्युत प्राधिकरणको सञ्चालक समितिमा ४ वर्षका लागि नियुक्त गरेका छन् ।

माओवादी मन्त्री बस्नेतले अमरगढी नगरपालिका–४ डडेल्धुराका कांग्रेस नेता रतनबहादुर ऐरलाई प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरेका हुन् । विद्युत् क्षेत्रमा विशेषता हासिल गरेका गैर सरकारी व्यक्तिहरुमध्येबाट ऐरलाई नियुक्त गरिएको हो । प्राधिकरणका इन्जिनियरको रुपमा २९ वर्ष उनले जागिर गरेका थिए । त्यसपछि उनी कांग्रेस राजनीतिमा सक्रिय छन् ।

ऐर कांग्रेस सभापति शेरबहादुर देउवा गुटका उनकै गृह जिल्लाका नेता हुन् । उनी महाधिवेशन प्रतिनिधिमा पराजित बनेका थिए । गत प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उनलाई देउवा गुटले प्रदेश सभाको समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ ३० जनाको नाम सिफारिस गरेको थियो भने उनी पनि त्यसमा समानुपातिकमा सिफारिस भएका थिए । सेवा निवृत्त हुनु भन्दा पहिले देउवा प्रधानमन्त्री हुँदा उनले सचिवालयमा रहेर लामो समय काम समेत गरेका थिए । मन्त्री बस्नेतले कांग्रेस नेतालाई नियुक्त गरेको भन्दै माओवादीभित्र भने बस्नेतको आलोचना भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।