काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३१औं साधारणसभा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकटले बहिस्कार गरेपछि नेकपा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् ।
सभाले अध्यक्ष मल्लसँगै २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । महासंघको अध्यक्षमा निर्वाचित हुने मल्ल पहिलो महिला हुन् । ०५० सालमा स्थापना भएको महासंघमा यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिइन् ।
कांग्रेस र माओवादीनिकट सहकारीकर्मीले निर्वाचन बहिष्कार गरेपछि सबै पदमा एमाले ९नेकपा एससहित० का उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । राष्ट्रिय प्रतिनिधिको संख्याका आधारमा महासंघमा भागबन्डा हुँदै आएको थियो । यस पटक पनि निर्वाचनका लागि २ सय ८७ जना प्रतिनिधि छानिएका थिए । तीमध्ये नेपाली कांग्रेसका ७१ जना, माओवादीका ३८ जना र बाँकी एमाले तथा नेकपा एसका प्रतिनिधि थिए ।
महासंघमा पदाधिकारी भागबन्डाका लागि लामो वार्ता भए पनि आफूले चाहेको सिट नपाएपछि कांग्रेस र माओवादीले गत शुक्रबार नै पत्रकार सम्मलेन गरेर उम्मेदवारी नदिने बताएका थिए । महासंघमा पदाधिकारीको कार्यकाल चार वर्ष हुन्छ ।