काठमाडाैं । इँटाभट्टामा जिउँदै मानिस जलाएर हत्या गरेकाे घटनामा आज पेशी ताेकिएन । आज अन्तिम सुनुवाइकाे पेशि भएपनि जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश विदामा भएकाले कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज नतोकिएकाे अदालतले जनाएकाे छ ।
जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीकाअनुसार न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको हाे । उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् ।
सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु विदामा भएकाले पेसीमा चढेन ।
गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ । उनी थुनामा छन् ।
इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाः सुनुवाइको पेसी नै चढेन
Comments