काठमाडौँ — निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै उत्पादन हुने वस्तुमा समेत परनिर्भर हुँदा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९३ अर्ब घाटा भएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले १ सय ५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । यसमध्ये १ सय २८ मुलुकसँगको व्यापार घाटा र २७ मुलुकसँगको व्यापार नाफा छ । व्यापार घाटा खर्ब र अर्ब रुपैयाँमा भइरहँदा नाफा भने करोड र लाखमा देखिएको छ । आयात–निर्यात व्यापारमा सबैभन्दा अगाडि भारत नै छ । भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् ६ महिनाको अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।

दोस्रोमा चीनसँग घाटा देखिएको छ । ६ महिनामा १ खर्ब ४५ अर्ब ७९ करोड घाटा भएको छ । १ खर्ब ४७ अर्ब ३९ करोडको आयात हुँदा १ अर्ब ६० करोडको मात्रै निर्यात भएको छ । जानकारका अनुसार पारवाहन लागत, उद्योगभन्दा ट्रेडिङ नीति, तुलनात्मक लाभका वस्तु परिमार्जित नहुँदा व्यापार बढ्न नसकेको हो । कृषिमा पराम्परागतबाट माथि नउठेको पूर्वसहसचिव रवि सैंजूले जनाए ।

‘स्वदेशमै उत्पादन गर्ने वस्तुमा निरुत्साहित हुने काम भएको छ । कृषिकै कुरा गर्दा हामीले पराम्परागत उत्पादनमा मात्रै ध्यान दिएका छौं । विदेशी स्वाद, चाहनाअनुसार उत्पादनमा ध्यानै दिएनौं,’ उनले भने, ‘यसमा सरकारको पनि दोष छ । सिमेन्ट उद्योगबाहेक अन्य सबै निरुत्साहित छन् । तुलनात्मक लाभका वस्तुबाहेक अन्यमा केन्द्रित हुनै सकेनौं ।’ उनका अनुसार तुलनात्मक लाभ (एनटीआईएस) का वस्तुमा दुई दशकदेखि उही वस्तु नै छन् । तर तिनको गुणस्तरमा ध्यान दिन सकेका छैनौं । यीबाहेक नयाँमा पनि धेरै परिवर्तन हुनुपर्ने सैंजूले बताए । – कान्तिपुरबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।