काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कदमहरूले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन्।
नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जनतामा ‘अबचाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताएका हुन् ।
चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताए ।
‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भीकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ ।’