मौसम पूर्वानुमानः आज यी प्रदेशमा हुनेछ वर्षा र हिमपात, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार नेपालका धेरै स्थानहरुमा मौसम बदली भई वर्षा र हिमपात हुने जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो । यससँगै चिसो बढ्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आइतबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा वर्षा हुने छ । मधेश र पूर्वी तराईका जिल्लाहरुमा भने खासै असर पर्नेछैन ।

अहिले नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली भित्रिएको छ । पानी र हिउँ पार्ने प्रणाली पश्चिम क्षेत्रमा शनिबार नै भित्रिसकेको छ । त्यो विस्तारै फैलिँदै जाने छ र बदली, वर्षा र हिमपात हुने छ । यसको असर सोमबारसम्म देखिने छ । सोमबार साँझदेखि भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद झाले जानकारी दिए ।

वर्षा र हिमपात ल्याउने मौसम प्रणालीको असरले तापक्रम घटेर चिसो बढ्ने छ । चिसोका कारण स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर गर्ने सम्भावना छ । त्यसैले सतर्कता अपनाउन महाशाखाका मौसमविदले आग्रह गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।