काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले शुक्रबार राजीनामा दिएकोे विषय शनिबार मिडियाभरी छाए । व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपनि आकस्मिक रुपमा आएको यस्तो निर्णयले धेरैलाई चकित पारेको छ ।
पछिल्लो समय विमानस्थल प्रहरीको अध्यागमनलगायत निकायसँग टकराव बढीरहेको अवस्थामा राजीनामा आउनुले यसको कारणबारे झनै विभिन्न शंकाहरु उब्जिन पुगेको हो ।
यसअघि अध्यागमनका एक अधिकृतलाई चेकजाँच गर्ने विषयमा प्रहरी र कर्मचारीबीच तनाबको सिर्जना भएको थियो । त्यस विषयमा सरकारले प्रहरीलाई कारबाही गर्ने निर्णय गरेको छ । उक्त विषयमा उनी असन्तुष्ट रहेका थिए । उनी कार्यालय प्रमुख हुनु र आफू मातहतका प्रहरी अधिकारीहरुलाई कारबाही गरेपछि नैतिकता देखाएर राजीनामा दिएको धेरैले अनुमान गरेका छन् । तर चन्दले भने राजीनामालाई व्यक्तिगत कारण भनेका छन् ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।








