वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा गौतमले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्न सकिने बताए ।

‘वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिना हो, त्यो नेपाल सरकारको सम्पत्ति पनि हो । अघिल्लो वर्ष करिब २२ खर्ब र यो वर्ष त्योभन्दा पनि बढी हुन सक्छ । त्यसलाई सरकारले नेपाल राष्ट्र बैंक वा कुनै बैंकमा राखेर कम्तीमा १० प्रतिशत ब्याज दिएर राख्नुपर्छ र उनीहरू स्वदेश आएपछि दिनुपर्छ । उक्त रकम सरकारले देश विकास निर्माणमा खर्च गर्न सके मुलुक आत्मनिर्भरको बाटोमा अघि बढ्नेछ,’ गौतमले भने ।

नेता गौतमले अहिले कमजोर रूपमा रहेको अर्थतन्त्रलाई सुधारेर मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन जरुरी भएको बताए । ‘अहिले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ, तर यसलाई सुधार गर्न सकिन्छ’, उनले भने, ‘सरकारमा भएकाले मात्रै जिम्मेवारी बहन गर्नुपर्छ भन्ने होइन, सरकार बाहिरका दलको पनि उत्तिकै भूमिका हुन्छ । मुलुकलाई कसरी समृद्ध बनाउने भन्ने सबैको चिन्तन जरुरी छ । यो सरकार मात्रै होइन, नयाँ संविधान जारी भएपछि बनेका कुनै पनि सरकारले यसलाई सुधार गर्ने प्रयास गरेनन् ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।