काठमाडौं । ७ करोड ३५ लाखभन्दा बढी रकमको कारोबार गरेका झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। झापाको दमक-१३ स्थित सरकारी जग्गा हडपेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा खेपिरहेका गगन र उनकी श्रीमती केशावती पुरी पनि विशेष अदालतबाट दोषी ठहर भएका छन्। उनीबाट ४ करोड ३ लाख अवैध सम्पत्ति जम्मा गरेको ठहर गरिएको छ ।
पुरीसँग ३ करोड ३२ लाख वैध सम्पत्ति रहेको तर ७ करोड ३५ लाखभन्दा बढी रकमको कारोबार देखिएको अदालतको ठहर छ। ४ करोड ३ लाख रूपैयाँ अवैध देखिएकाले अदालतले उनलाई दोषी ठहर गरेको हो।
उनीहरूलाई सजाय निर्धारण गर्न अदालतले अर्को पेसीमा थप सुनुवाइ गर्नेछ। सम्पत्ति शुद्धीकरण विभागले २०७७ माघ २१ गते पुरी दम्पतीसहित ६ जनाविरूद्ध १२ करोड १३ लाख रूपैयाँबराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो। गगनका आफन्त मनमाया पुरी र देवकुमार पुरीले सफाइ पाएका छन्। कृष्णकुमार पुरी र संगीता पुरीको सम्पत्ति पनि जफत नहुने फैसला अदालतले गरेको छ।
पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। २०७४ मा गगन माओवादीबाटै टिकट पाएर दमक नगरपालिका प्रमुखको पदमा प्रतिस्पर्धा गरेका थिए।