काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तह कार्यक्रमलाई तीन वर्षे बनाउने तयारी गरेको छ । त्रिविका नवनियुक्त उपकुलपति प्रा.डा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीन वर्षे बनाइने जानकारी दिएका छन्। त्रिविले २०७१।०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चार वर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो।
विश्वविद्यालयको केन्द्रीय कार्यालयमा पदबहालीपछि उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए। ‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ’, उनले भने।
अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।’







