काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको घर झगडाले उग्र रुप लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने नगर्ने विषयमा नाउपका संरक्षक रेशम चौधरी र पत्नी रन्जिताबीच विवाद देखिएको हो ।
रेशमले पत्नी रन्जितासँगको राजनीतिक विवाद फेसबुकमा पोखेका छन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमाबारे रेशमले यो विषयमा सम्झाउन आफू कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको फेसबुकमा लेखेका छन् । ‘म उनलाई ९रन्जितालाई० सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ उनले लेखेका छन् ।
जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने(स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’
रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।