काठमाडौं फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएका हुन्।
‘यावत आक्षेपकै बीचमा पनि म फेरि दोहोर्याउँछु,प्रधानमन्त्रीका रुपमा म निषेध,अपमान र प्रतिशोध होइन, सहमति,सहकार्य र आपसी विश्वासकै लागि प्रतिjद्ध छु,’प्रधानमन्त्री प्रचण्डले भने,’अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति हुनुहुन्छ,नेपाली कांग्रेसको पृष्ठभूमिबाट । उपराष्ट्रपति हुनुहुन्छ जनता समाजवादी पार्टीबाट। सभामुख हुनुहुन्छ,नेकपा (एमाले)को पृष्ठभूमिबाट । राष्ट्रियसभा अध्यक्ष हुनुहुन्छ माओवादी केन्द्रको पृष्ठभूमिबाट । उपसभामुख हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।’
सम्बोधनका क्रममा प्रचण्डले आर्थिक गतिविधिको विस्तार र समष्टिगत आर्थिक स्थायित्व सरकारको प्राथमिकता हुने बताए। सरकार गठनमा सहभागी दलहरूबीच न्यूनतम साझा कार्यक्रमका लागि कार्यदल बनेको जानकारी दिए।