काठमाडौँ, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी नियन्त्रण र विपद्मा नागरिकको सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका छन् ।

सप्तरीमा केही दिनअघि बाढीबाट भएको क्षतिका सम्बन्धमा नेपाली काँग्रेसका जिल्ला सभापतिले ध्यानाकर्षण गराउने क्रममा आज प्रधानमन्त्री देउवाले वर्षायाममा हुनसक्ने बाढीपहिरोलगायत विपद्बाट जनधनको क्षति हुन नदिनका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले विपद्का बेला आम नागरिकलाई समेत सजग र सचेत रहन आग्रह गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सप्तरीमा असार दोस्रो सातादेखि भएको अविरल वर्षाका कारण बाढीबाट खेतीयोग्य जमीन, मानव बस्ती र बजारमा क्षति पु¥याएको सम्बन्धमा सप्तरी, सर्लाहीलगायत जिल्लाका काँग्रेसका सभापतिले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।