काठमाडौ । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो।

यस्तै, सरकारले राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरेको छ। आयोगको सदस्यमा काठमाडौँकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत, पाल्पाका प्रा. शिवराज अधिकारी र ललितपुरका डा. अरनिको पाण्डेलाई नियुक्त गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सत्ता समीकरण बदलिएसँगै नेपाली कांग्रेस र जनमत पार्टीबाट राष्ट्रिय योजनाका सदस्यमा नियुक्त चार सदस्यले राजीनामा दिएका थिए।

यसैबीच, सरकारले नेपाल र कोरियाबीच सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्नेसमेत निर्णय गरेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।