Saturday, July 25, 2026
Home मुख्य समाचार ११० मिलियन डलरमा बनेकोे अमेरिकास्थित ३ किमी लामो पुलमा कार्गो जहाज ठाेक्कियाे

११० मिलियन डलरमा बनेकोे अमेरिकास्थित ३ किमी लामो पुलमा कार्गो जहाज ठाेक्कियाे

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एक कार्गो जहाज पुलमा ठोक्किएको छ । मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा २.५७ किलोमिटर लामो “फ्रान्सिस स्कट की’ पुल भत्किएको छ ।

जहाजले पुललाई ठक्कर दिएको थियो । त्यसपछि जहाजमा भएका सामग्रीहरु नदीमा खसेको थिए भने पुल भत्किन पुगेको थियो । समाचार संस्था रोयटर्सका अनुसार उक्त पुल निर्माणमा करिब ११० मिलियन अमेरिकी डलर खर्च भएको थियो ।

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै सीएनएनले २० जनाको खोजी भइरहेको जनाएको छ । पानीबाट २ जनाको उद्दार भइसकेको छ । घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेका छन् । अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखार परिचालन गरिएको छ ।

सिंगापुरको झण्डा अंकित उक्त कार्गोले आफ्नो मार्ग परिवर्तन गरेपछि पुलमा गएर ठोक्किन पुगेको सिएनएनले जनाएको छ । श्रीलंका जाँदै गरेको कन्टेनर जहाज स्थानीय समय अनुसार बिहान १ः२६ मा पुलको पिलरतर्फ बाटो परिवर्तन गरेको दुई मिनेटपछि पुलमा ठोक्किएको थियो लगत्तै जहाजबाट कालो धुवाँको मुस्लो निस्किरहेको सार्वजनिक भिडियोहरुले देखाउँछ। घटना हुनुअघि उक्त जहाजको बत्ती दुई पटक झिलिमिली भएको जनाइएको छ । किन त्यस्तो भयो भन्नेबारे कुनै प्रमाणहरु बाहिर आएका छैनन् ।

त्यहाँको संघीय उड्डयन प्रशासनले बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिजको भग्नावशेषमा विमानलाई उडान गर्न प्रतिबन्ध लगाएको छ। घटनामा आतंककारीको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

सन् १९७७ मा सञ्चालनमा आएको उक्त पुल मेरिल्यान्डका लेखक तथा अधिवक्ता फ्रान्सिस स्कट कीको सम्मानमा नामकरण गरिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।