काठमाडौं – चलचित्र ‘वीरांगना’ निर्माण हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र वीरांगना निर्माण गर्न लागिएको जानकारी दिइएको हो । चलचित्र वीरांगना फोर्थ आई मुभिजले निर्माण गर्न लागेको हो ।

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझिको प्रमुख अतिथ्यमा सम्पन्न शुभमुहूर्त कार्यक्रममा पुराना कलाकारदेखि नयाँ अनुहारसम्मको उपस्थिति थियो ।
नेपालको सीमाक्षेत्रमा हुने अवैधानिक गतिविधि तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न र त्यसको शान्तिसुरक्षाको प्रत्याभूति गर्न/गराउन नेपाली नारीहरूले देखाउने वीरताको विषयमा फिल्म निर्माण हुन लागिएको हो । चलचित्रमा वीरांगनाको मुख्य पात्रका रूपमा नायिका शिल्पा पोखरेललाई देख्न पाइनेछ । उनलाई चलचित्रमा सशस्त्र प्रहरीको भूमिकामा देख्न सकिने निर्माण पक्षले बताएको छ ।
शिल्पाको अलवा फिल्ममा अनुपविक्रम शाही, पृथ्वीराज प्रसाईं, धिरेन शाक्य, सुनिलदत्त पाण्डे, सुशील पोखरेल, प्रिया रिजाल, सपना श्रेष्ठ, मार्टिन वली, किशोर झालगायतको मुख्य भूमिका रहनेछ । वीरांगना नारी वीरताको विषयमा बन्न लागको एक्सन चलचित्र भएको निर्देशक राजबहादुर सानेले बताए ।
चलचित्रमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियारको लगानी रहनेछ भने देव तामाङ, सुमी चाम्लिङ राईले सहयोग गर्नेछन् । निर्देशक राजबहादुर सानेले नै लेखेको फिल्मलाई हरि घले लामाले खिच्नेछन् । फिल्ममा दीपक शर्मा र पुरुषेत्तम न्यापानेको संगीत रहनेछ । साथै श्री श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्रका कार्यकारी निर्माता किशोर झा हुन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।