काठमाडौं १९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टु-जिरो अर्थात रनवेको उत्तरतर्फको विन्दुबाट तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको हो ।
अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुनेछ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।
उत्तरतर्फको काम सकिएपछि दक्षिणतर्फ यसैगरी निर्माणको काम हुनेछ । विमानस्थलको क्षमता अभिवृद्धिका लागि यो निर्माण गर्न लागिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०(२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको छ। एडिबीले सन् २००९ देखि नै गुरुयोजना अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी) मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ ।