योजनाबद्ध विकास अभियान अन्तर्गत सरकारले १६ औं अद्यावधिक योजना प्रस्तुत गरेको छ। २०१३ सालबाट योजनाबद्ध विकास अभियान सुरु गरिएको थियो। यस अन्तर्गत तोकिएको समयमा हासिल गर्ने वा गर्नुपर्ने लक्ष्य निर्धारण गर्ने र त्यसका लागि के-के काम गर्ने भनेर योजनाको खाका तय गरिँदै आएको छ।

बितेको ६७ वर्षमा १० वटा पञ्चवर्षीय र पाँच वटा तीन वर्षीय अद्यावधिक योजनाहरू मार्फत सरकारले आफ्ना लक्ष्यहरू निर्धारण गरेको छ। अहिले १६ औं अद्यावधिक योजना अन्तर्गत पाँच वर्षे अद्यावधिक योजना अघि सारेको हो।

विगतमा सरकारले तय गरेका सूचकहरू मध्ये सामाजिक सूचकमा करिब पूरा हुँदै आए पनि आर्थिक सूचक लक्ष्यको तुलनामा निकै पछि छन्। 

आठौं अद्यावधिक योजनापछि आर्थिक वृद्धिको लक्ष्य एक पटक मात्रै पूरा भएको छ। अन्य समयमा लक्ष्य र प्राप्तिबीच ठूलो अन्तर देखिएको छ।

विगतमा देखिएको लक्ष्य र प्राप्तिबीच अन्तरलाई मध्यनजर गरेर १६ औं अद्यावधिक योजना बनाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको दाबी छ।

‘१६ औं योजनामा हामी महत्त्वाकांक्षी भएका छैनौं, पूरा गर्न सकिने लक्ष्यहरू निर्धारण गरिएको छ, यस हिसाबले हामी लक्ष्यभन्दा माथि नै पुग्छौं,’ श्रेष्ठले भने।

१६ औं अद्यावधिक योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचमा योजना तय गरेको छ। मुख्यतया यी तीन सोच अन्तर्गत सूचकहरू तय गरिएको छ। ती सूचकमा अहिलेको अवस्था, अब पुग्ने लक्ष्य र लक्ष्यमा पुग्नलाई गर्नु पर्ने काम तोकिएको उपाध्यक्ष श्रेष्ठले बताए।

आगामी पाँच वर्षपछि नेपालको अर्थतन्त्रको वार्षिक उत्पादन १०३ खर्ब पुग्ने, पाँच वर्षको अवधिमा औसत आर्थिक वृद्धिदर ७.३ प्रतिशत हुने तथा एक व्यक्तिको प्रतिव्यक्ति आय २३ सय डलर माथि पुग्ने सहितका समृद्धि मापन गर्ने २० सूचक तय गरिएको छ। त्यस्तै सुशासन र सामाजिक न्याय मापन गने १०/१० सूचक राखिएको छ।

राष्ट्रिय योजना आयोगले महत्त्वाकांक्षी योजना नभएको दाबी गरे पनि अर्थविद्हरूले भने अहिले राखिएको लक्ष्य प्राप्ति गर्ने किसिमको नभएको टिप्पणी गरेका छन्।

‘धेरै योजनाहरू महत्त्वाकांक्षी नै छन्। योजनाको रणनीति अनुसार काम भएको पनि छैन, औसत २ प्रतिशतको आर्थिक वृद्धि भएको अवस्थामा ७ प्रतिशत माथिको वृद्धिदर, मूल्य वृद्धिदर ५ प्रतिशत कायम गरिनु, २० प्रतिशत माथि रहेको निरपेक्ष गरिबी १२ प्रतिशतमा झार्नु निकै महत्त्वाकांक्षी लक्ष्य छन्’ योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेलले भने।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ केही चुनौती कायम रहेर पनि यी लक्ष्यहरू पूरा गर्न सकिने बताउँछन्।

‘यी लक्ष्य पूरा गर्न हामीले काम त गर्ने पर्छ, के काम कसरी गर्ने, अहिलेको समस्या के हो, अवसर के छन् सबै हामीले कोट्याएका छौं,  यी काम गर्दा लक्ष्यभन्दा माथि उठ्छौँ भन्ने निचोड हो,’ श्रेष्ठले भने। सेतोपाटीबाट साभार

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।