काठमाडौं १८ असार । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि मिलेर सरकार बनाउने सहमति गरेका छन् । यो सहमतिसँगै अब एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रणालीमा प्रधानमन्त्री बन्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । पहिलो पटक एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् भने त्यसपछि देउवाले चुनावसम्म सरकारको नेतृत्व गर्नेछन् । संसदको बाँकी कार्यकाल दुई नेताले आधाआधा बाँड्ने सहमति भएको छ ।
उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रतिनिधिसभा तथा प्रदेशसभा संख्या घटाउने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन् । त्यसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोन सुझाव समिति गठन गर्ने पनि समझदारी बनेको छ ।
चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको निवासमा दुई नेताले गएराती नयाँ सरकार गठनसम्बन्धी सहमति गरेका हुन् ।